Urbano Logo
News

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् - भूमि बैंकले कसरी काम गर्छ ?

November 16, 2025
3 min read
Er. Govinda Baniya
21 views
पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् - भूमि बैंकले कसरी काम गर्छ ?
काठमाडौँ — भूमिको समानुपातिक वितरण नेपालमा सधैँ राजनीतिक विषय मात्रै बन्दै आइरहेको छ । भूमि हुनेहरूले कृषि नगर्ने अनि कृषिमा आश्रितहरूसँग भूमि नहुने समस्या पेचि...

काठमाडौँ — भूमिको समानुपातिक वितरण नेपालमा सधैँ राजनीतिक विषय मात्रै बन्दै आइरहेको छ । भूमि हुनेहरूले कृषि नगर्ने अनि कृषिमा आश्रितहरूसँग भूमि नहुने समस्या पेचिलो बन्दै गइरहेको पृष्ठभूमिमा सरकार भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न अघि सरेको छ । २०७६ सालमै ऐनमा समेटिएन पनि नियमावलीमा आउन सकेन । भू–उपयोग ऐन, ०७६ मा समेटिएको यो विषय ७ वर्षपछि बल्ल नियमावलीमा आयो । अब यसको कार्यान्वयनको बाटो खुलेसँगै धेरैमा जिज्ञासा छ, यसले कसरी काम गर्छ अनि यसको फाइदा कसले पाउँछ ? हामीले यही विषयलाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।

१) सरकारले भूमि बैंकको अवधारणा किन र कसरी ल्यायो?

देशभर कृषियोग्य जमिन संकुचित हुँदै गएको, आंशिक मात्र प्रयोग भएको तथा धेरै जमिन बाँझै बस्ने अवस्था बढेपछि सरकार भूमि बैंकतर्फ उन्मुख भएको हो । बाँझो जमिन उत्पादनमा ल्याएर खाद्यान्न उत्पादन बढाउने मुख्य लक्ष्य छ । जग्गा भाडामा दिँदा मोहियानी लाग्छ कि भन्ने शंकाबाट मुक्ति दिलाउन पनि स्थानीय तहमार्फत उपयोगका लागि उपलब्ध गराउने पनि हो । यो अवधारणा सरकारले २०७६ मा ल्याएको भू–उपयोग ऐनमै समावेश गरे पनि नियमावली बन्न नसक्दा कार्यान्वयन अघि बढेको थिएन । पछिल्लो मन्त्रिपरिषद्ले भू–उपयोग तेस्रो संशोधन नियमावली स्वीकृत गरेपछि भूमि बैंक अब व्यवहारमा लागू हुने अवस्था बनेको छ । यसले जग्गाधनीलाई आफ्नै इच्छा अनुसार बाँझो, उपयोगमा नरहेको वा अव्यवस्थित जग्गा बैंकमा राखेर अरूलाई प्रयोग गर्न दिने र सोहीबाट प्रतिफल पाउने मार्ग खोलिदिन्छ ।

२) भूमि बैंक कसरी कार्यान्वयनमा आउँछ?

भू–उपयोग नियमावलीअनुसार पालिकाको मागमा भूमि बैंक स्थापना गरिनेछ । त्यसका लागि ‘भूमि बैंक सञ्चालन समिति’ गठन हुन्छ । यो समितिको संयोजक सम्बन्धित नगरप्रमुख वा गाउँपालिका अध्यक्ष वा निजले तोकेको कार्यपालिका सदस्य रहनेछन् । समिति स्थानीय तहकै इकाइको रूपमा काम गर्छ र पालिकाले नै यसको अधिकार र जिम्मेवारी निर्धारण गर्छ । समितिले जग्गा दर्ता, अभिलेख व्यवस्थापन, जाँचबुझ, प्रतिफल निर्धारणदेखि किसान वा इच्छुक समूहलाई उपयोगका लागि व्यवस्था मिलाउनेसम्मको काम गर्नेछ ।

३) पालिकाले भूमि बैंक कसरी सञ्चालन गर्छन्?

भूमि बैंकमार्फत जग्गा उपयोग गराउन पालिकाले कम्तीमा ३५ दिनको सार्वजनिक सूचना निकाल्छ । जग्गाधनीले आफ्नो स्वामित्व प्रमाण, कित्ता नम्बर, क्षेत्रफल र उपयोग गराउन चाहेको अवधि उल्लेख गरी निवेदन दिनुपर्छ । जाँचबुझपछि पालिकाले उपयुक्त देखिएको जग्गामा प्रतिफल पनि उल्लेख गरेर जग्गाधनीसँग सम्झौता गर्छ र सूचीकृत गर्छ । अब यो सूचीकृत जग्गा उपयोग गर्न इच्छुक व्यक्तिबाट पुनः निवेदन मागिन्छ । निवेदन दिएको १५ दिनभित्र पालिकाले सम्झौता गरी अनुमतिपत्र दिन सक्छ । यदि एउटै जग्गाका लागि धेरै निवेदन आए भने अल्पसंख्यक, सीमान्तकृत समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्ति/परिवारलाई प्राथमिकतामा राखिन्छ । निवेदन नआएमा पालिकाले सहकारी, समूह वा कम्पनीलाई पनि जग्गा उपयोग गर्न दिन सक्छ । अनुमति पाउने व्यक्ति वा समूहले तोकिएको शुल्क बुझाएर जग्गा मूल स्वरूपमा असर नपर्ने गरी उपयोग गर्नुपर्नेछ ।

४) यो कामबाट कसले कसरी फाइदा पाउन सक्छन्?

जग्गाधनीका लागि बाँझै रहेको वा उपयोग नगरेको जग्गाबाट नियमित आम्दानीको बाटो खुल्छ । जग्गा नभएका किसान वा युवालाई उब्जाऊ जमिनमा पहुँच मिल्छ । सम्झौताअनुसार प्रतिफल वर्षैभरि पाउने भएकाले जग्गाधनी पनि लाभान्वित हुन्छन् ।पालिकाले सहजीकरण गर्ने भएकाले विवाद र अन्योल घट्छ । साथै रोजगारी बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने र कुल कृषि उत्पादन बढ्ने अपेक्षा छ ।

५) के यो अभ्यासले उत्पादन बढाउँछ?

२०६८ को तुलनामा २०७८ मा देशभर बाँझो जग्गा ९५ प्रतिशतले बढेको राष्ट्रिय कृषिगणना २०७८ मा उल्लेख छ । भूमि बैंक कार्यान्वयनमा आएपछि बाँझो र उपयोगमा नरहेको जग्गा उपयोगमा आउनेछ । बाँझो जग्गा उपयोगमा आएपछि उत्पादन स्वाभाविक रूपमा बढ्छ । बाँझो बसिरहेको जमिन खेतीयोग्य बन्छ, किसानको पहुँच विस्तार हुन्छ र योजनाबद्ध रूपमा खेती गर्न सकिने भएकाले समग्र उत्पादनमा वृद्धि हुनेछ ।

Tags

#bhumibank#realestatenepal#latestnews#gharjagga

You May Also Like

३६ वटा कम्पनीले मात्र पाए रियल इस्टेट इजाजतपत्र, ३ करोडभन्दा माथिका कारोबार मात्र गर्न पाउनेNews

३६ वटा कम्पनीले मात्र पाए रियल इस्टेट इजाजतपत्र, ३ करोडभन्दा माथिका कारोबार मात्र गर्न पाउने

February 24, 2026

भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले जारी गरेको पछिल्लो सूचना अनुसार हालसम्म देशभर केवल ३६ वटा कम्पनी/संस्थाले मात्र रियल इस्टेट एजेन्सीको आधिकारिक इजाजतपत्र प्र...

श्रावण १ गतेदेखि राेकिएकाे कित्ताकाट सम्बन्धी कार्य पुन सुचारू - कित्ताकाट खुलेसँगै के घरजग्गा काराेबार बड्ला त?News

श्रावण १ गतेदेखि राेकिएकाे कित्ताकाट सम्बन्धी कार्य पुन सुचारू - कित्ताकाट खुलेसँगै के घरजग्गा काराेबार बड्ला त?

November 13, 2025

नेपाल सरकारको मन्त्रिपरिषद्ले केही महिनादेखि रोकिएको जग्गा कित्ताकाट (भू–उपयोग विभाजन) कार्य पुनः सुरु गर्ने निर्णय गरेको छ। यो निर्णय भूमि व्यवस्था, सहकारी तथा...

अर्बानो रियल इस्टेट र महर्जन रियल इस्टेटबीच घरजग्गा ब्यवसायमा अन्तरास्ट्रिय स्तरको  सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षरNews

अर्बानो रियल इस्टेट र महर्जन रियल इस्टेटबीच घरजग्गा ब्यवसायमा अन्तरास्ट्रिय स्तरको सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

September 26, 2025

काठमाडौं, २६ असोज २०८२ – अर्बानो रियल इस्टेट र महर्जन रियल इस्टेटले आफ्ना ग्राहकहरूलाई अन्तरास्ट्रिय मापदण्डको सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण सम्झौत...

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् - भूमि बैंकले कसरी काम गर्छ ? | Urbano Real Estate Nepal